कांग्रेसले सांसदको दशैं भत्ता कोभिड कोषमा जम्मा गर्ने

३ कात्तिक, २०७७ काठमाडौं । चौतर्फी विरोध भएपछि नेपाली कांग्रेसले आफ्ना सबै संघीय सांसदको दशैं भत्ता “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गरेको छ ।
सभापति देउवाको निर्देशनलगत्तै कांग्रेसले दशैं भत्ताबापतको ४३ लाख २० हजार ८ सय १० रुपैयाँ कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण उत्पन्न अहिलेको अवस्थामा दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकाले कोभिड कोषमा पठाउने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
कांग्रेसले जनताको जीवन रक्षामा अग्रसर हुन पनि सरकारको ध्यानाकर्षण गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन् ।
जनस्तर र सञ्चार माध्यमबाट चर्को आलोचना भएपछि सांसदले हिजोदेखि दशैं भत्ता फिर्ता गरिरहेका छन । संघीय सांसदले ६४ हजार ७० रूपैयाँ दशैं भत्ता पाएका थिए ।
यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पनि दशैं भत्ता फिर्ता गर्नुभएको छ ।
प्रतिक्रिया