Main News

कोरोना संक्रमितलाई भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते २०:१७
कोरोना संक्रमितलाई भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या दिन दुगुना रात चौगुना बढिरहेको छ । संक्रमितसँगै गम्भीर प्रकृतिका बिरामी पनि बढिरहेका छन् । यस्ता गम्भीर बिरामीका लागि भेन्टिलेटर र आईसीयू चाहिन्छ । तर काठमाडौं उपत्यकाका निजी तथा सरकारी अस्पतालमा समेत भेन्टिलटर र आइसीयूको अभाव छ । जसले गर्दा कोरोना संक्रमणबाट गम्भीर बिरामी भेन्टिलटर र आइसीयूको अभावमा अकालमा नै ज्यान गुमाइरहेका छन् ।

घटना १ – मञ्जुरीनामा
कोरोना संक्रमणबाट गम्भीर बिरामीको उपचारका लागि भेन्टिलेटर र आइसीयू नपाएपछि ग्रान्डी अस्पतालमा आफन्तले गरेको मञ्जुरीनामा हो यो । यो मञ्जुरीनामामा म विभिन्न अस्पताल धाउँदासमेत भेन्टिलेटर र आइसीयू नपाएकाले ग्रान्डी अस्पतालको आकस्मिक कक्षमा अक्सिजनकै भरमा बिरामी राख्न तयार छु । बिरामीलाइ केही भए आफैँ जिम्मेवार छु भनेर आफन्तले सही गरेका छन् ।

घटना २. आईसीयू नपाउँदा कोरोना संक्रमितको मृत्यु
आईसीयू नपाएका कारण गत हप्ता ललितपुरका ५० वर्षका कोरोना संक्रमितको मृत्यु भयो । मधुमेह, अल्सर तथा पायल्सको बिरामी उनलाई मेघा अस्पतालका डाक्टरले आईसीयूमा राख्नुपर्ने बताएका थिए । तर काठमाडौं उपत्यकाका कुनै पनि अस्पतालमा उनका लागि आईसीयू पाइएन । उनी सिकिस्त भएको भोलिपल्ट अल्का अस्पतालमा आइसीयू पाइयो । तर त्यतिबेला निक्कै ढिलो भइसकेको थियो । उनलाई बचाउन सकिएन ।

यी दुई घटना भेन्टिलेटर र आइसीयू नपाइएका प्रतिनिधि घटना मात्र हुन् । कोरोना संक्रमणबाट गम्भीर बिरामी बढ्दै जाँदा पछिल्लो समय अस्पतालमा भेन्टिलेटर र आइसीयू पाइनै छाडेको छ । भेन्टिलेटर र आइसीयूमा राख्नुपर्ने बिरामीलाई अरु बेडमा राख्नुपर्ने अवस्था छ । उपत्यकाका सबै अस्पतालको हालत पनि यस्तै छ ।

गत चैतमा लकडाउन शुरु भएलगत्तै विज्ञले आईसीयू र भेन्टिलेर थप्न सरकारलाई सुझाव दिएका थिए । तर त्यो सुझाव सरकारले एउटा कानबाट सुनेर अर्को कानबाट उडाइदियो । सरकारले आईसीयू र भेन्टिलेटर थप्नै चाहेन । उसले भएकै आईसीयू र भेन्टिलेटर कोरोना संक्रमितलाई छुट्याउने निर्णय गरेर झारा टार्‍यो ।

उसले काठमाडौंका सरकारी र निजी अस्पतालका गरी २ सय ७ वटा आईसीयू र ८२ वटा भेन्टिलेटर कोरोना संक्रमितका लागि छुट्यायो । तर आइतबारसम्म ३ सय एक जना आइसीयू र ६६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । अर्थात सरकारले छुट्याएको भन्दा ९४ जना बढी संक्रमित आईसीयूमा छन् । उनीहरुलाई अन्य बिरामीको आईसीयू उपलब्ध गराइएको छ । अब कोरोना मात्र हैन अन्य रोग लागेका सिकिस्त बिरामीले पनि आईसीयू नपाउने स्थिति छ । यो निक्कै खतरनाक र चिन्ताजनक हो ।

कोरोना संक्रमण नियन्त्रण र उपचारको काममा शुरु देखि नै चुकिरहेको सरकार अहिले झस्किएको छ । र, हात उठाएर पछि सरेको छ ।

भेन्टिलेटर र आइसीयू मात्रै होइन, हामी सजग नहुने हो भने अरु बेड समेत नपाउने अवस्था आउन सक्छ । त्यसैले कोरोनालाई ख्यालख्याल नसम्झी संक्रमणबाट जोगिन सावधानी अपनाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *