Main News

कोरोना कहरकाबीच घरघरमा घटस्थापना (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १ गते १७:०१
कोरोना कहरकाबीच घरघरमा घटस्थापना (भिडियोसहित)

१ कात्तिक, २०७७ काठमाडौं । आज आश्विन शुक्ल प्रतिपदा अर्थात विजया दशमीको पहिलो दिन । कोरोना कहरका बीच घरघरमा घटस्थापना गरी जमरा राखिएको छ । आजैदेखि नवरात्र र वडा दशैं सुरु भएको छ ।

कोरोना संक्रमण तीब्र हुँदै गइरहेका बेला आज घरघरमा घटस्थापना गरिएको छ । दशैंको पहिलो दिन शनिवार सबै हिन्दु नेपालीका घरमा जमरा राखिएको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छरिन्छ र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गरिन्छ ।  

जमरामा विशेष गरी जौ, धान र मकैको प्रयोग गरिन्छ । जौलाई आदिकालदेखि चोखो वनस्पति मानिन्छ। घाम नछिर्ने ठाउँमा शुद्ध माटोमा उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा समृद्धिको प्रतिक मानिएको छ भने वैज्ञानिक दृष्टिकोणबाट पनि यसको महत्व त्यत्तिकै छ ।

जमरा राख्नुपूर्व रातो र कमेरोको माटोले लिपपोत तथा रङरोगन गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यताका कारण सबैले आ–आफ्नो घरलाई विशेषरुपमा सफा गर्छन ।

घटस्थापनाका अवसरमा काठमाडौंको हनुमानढोका दरबारसहितका देशैभरका दशैंघरमा समेत वैदिक विधिपूर्वक जमरा राखी विशेष पूजा गरिएको छ। धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थ निहित छन् भन्ने विश्वास गरिन्छ । यसका अतिरिक्त घटकलश अष्टमंगलका शुभ चिन्हद्वारा समाहित गरिएको पाइन्छ ।

आजकै दिनदेखि घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पवित्र नदी नाला, सप्त सागर, सप्तद्वीप सबैलाई समाहित गरी दशैं पूजाको थालनी गर्ने चलन छ ।

घट्स्थापनाका दिनदेखि नवमीसम्म देवी मन्दिर र घरघरमा नवदुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । तर यो वर्ष कोरोना भाइरस संक्रमणका कारण सरकारले मापदण्ड बनाएर पूजा गर्न भनेको छ । पच्चीस जनाभन्दा बढी भेला हुने नपाइने नियम लागु गरेकाले शक्तिपीठमा भीडभाड गर्न पाइने छैन् ।

नवरात्रभर देवी मन्दिरहरुमा दुर्गासप्तसती चण्डी, स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गाकवच, श्रीमद् देवी भागवत पाठ गरिन्छ । आज भगवती दुर्गा भवानीको प्रथम रुप माता शैलपुत्रीको पूजाआराधना गरिएको छ ।

हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई समृद्धि प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ । भगवती शैलपुत्री हिमालय पर्वतकी छोरी भएकीले पार्वती हेमावती, प्रकृति नामले समेत पुकार्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *