देशका विभिन्न अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

२८ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट धरानमा दुई तथा पोखरा र भरतपुरमा एक एक जनाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान इटहरी –६ की ६० वर्षीया महिला र गएराति मोरङको बेलबारी १० का ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिनु भएको हो ।
यसैगरी कुनै दीर्घरोग नभएका ३७ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको थियो ।
यस्तै, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत स्याङ्जा भीरकोट नगरपालिका २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ हजार एक सय ३१ पुगेको छ ।
यसैगरी, चितवनमा पूर्वी नवलपरासीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मध्यविन्दु–१५ का ७५ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
असोज १८ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका पुरुषमा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया