Main News

जग्गा कारोबारमा भइरहेको चलखेल रोक्न कित्ताकाट खुलाः मन्त्री अर्याल

हिमालय टिभी
२०७७ असोज २७ गते १७:१४
जग्गा कारोबारमा भइरहेको चलखेल रोक्न कित्ताकाट खुलाः मन्त्री अर्याल

२७ असोज, २०७७ काठमाडौं । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले जग्गा सम्बन्धी कारोबारमा भैरहेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाएको प्रष्टिकरण दिनुभएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा गएर मन्त्री अर्यालले प्रष्टिकरण दिनुभएको हो । जग्गा कित्ताकाट खोल्ने निर्णयमा समितिले प्रश्न उठाएपछि त्यसको जवाफ दिँदै मन्त्री अर्यालले जग्गा कारोबारमा आर्थिक चलखेल बढेकाले रोक्न कित्ताकाट खुला गरिएको बताउनुभयो ।

भू,उपयोग ऐन २०७६ समयमै कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम नहुने भएकोले कित्ताकाट खोलेको बताउनुभयो ।

जनता र राष्ट्रका लागि काम गर्दा आफ्नो निजी स्वार्थ केही पनि नहुने भन्दै उहाँले कित्ताकाट खुला गरेपछि भइरहेका सबै आलोचनाको प्रष्टिकरण दिन जरुरी नरहेको पनि बताउनुभयो ।

अहिले ऐन कार्यान्वयनको चरणमा आइसकेको उहाँले बताउनुभयो । ५ सय ३३ स्थानीय तहमा भू–उपयोग नक्सा हस्तान्तरण भइसकेको र बाँकी स्थानीय तहमासमेत हस्तान्तरणको गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

गत भदौ १८ गते मन्त्रीस्तरीय निर्णयले जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको थियो । र, जग्गा दलालको प्रभावमा खोलिएको भन्दै सरकारको चर्को आलोचना भैरहेको छ ।

संसदीय समितिले पनि त्यसमा प्रश्न उठाउँदै छलफलका लागि मन्त्री अर्याललाई बोलाएको थियो । सरकारको कित्ताकाट खुला गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ । अहिले मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *