कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने अध्यक्ष प्रचण्डको चेतावनी (भिडियोसहित)
२६ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा पार्टीभित्र देखिएको विवादको जिम्मा प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिन चेतावनी दिनुभएको छ ।
आफू निकट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली निकट नेता यामलाल कँडलेको अगुवाईमा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रचण्डले आक्रोश व्यक्त गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीकै बलमा अविश्वास प्रस्ताव दर्ता गरेको भन्दै त्यसको जिम्मा लिन चेतावनी दिनुभएको छ ।
प्रचण्डले अब कर्णालीको विवाद आफै समाधान गर्न पनि ओलीलाई भनेको स्रोतले जनाएको छ । प्रचण्डले भर्खरै विवाद समाधान भएका बेला कर्णाली प्रदेशमा विवाद झिकेर के गर्न खोजेको ? भन्ने प्रश्नसमेत गर्नु भएको छ ।
जवाफमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव दर्ता हुनु दुखद् भन्दै प्रदेशको विवादलाई केन्द्रसँग जोड्न नमिल्ने जवाफ दिनुभएको छ ।
विवाद समाधानका लागि प्रदेशको दुवै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । आइतबार शाहीविरुद्ध तत्कालीन माओवादी केन्द्रका ३ र एमालेका १५ गरी १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपामा नयाँ तरंग आएको छ ।
आजको भेटमा प्रचण्डले पार्टी कमिटीलाई बाइपास गरेर मन्त्रिपरिषद् पूनर्गठन, राजनीतिक नियुक्ति नगर्न पनि भन्नुभएको छ ।
प्रतिक्रिया