Main News

सरकारसँग आठबुँदे सहमतिसँगै डा. गोविन्द केसीको अनशन तोडियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २५ गते १२:५८
सरकारसँग आठबुँदे सहमतिसँगै डा. गोविन्द केसीको अनशन तोडियो (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । सरकारसँग आठ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले २८औं दिनमा अनशन तोड्नु भएको छ ।

अनशनको २७ औँ दिनमा गएराति सरकार र केसीबीच ८ बुँदे सहमति भएको थियो । कोरोना संक्रमणपछि निको भएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीको हातबाट जुश पिएर केसीले अनशन तोड्नुभएको हो ।

विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि कार्यदलले दिएको सुझावका आधारमा निष्पक्ष र पारदर्शी रुपमा नियुक्ति गर्ने र कानूनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमतालाई आधार मानेर पदाधिकारी नियुक्त गर्ने सहमति भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर आगामी वर्षदेखि एमबीबीएस लगायतका कार्यक्रम संचालन गर्ने, कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्मा रहेको ऐन संसदको आगामी अधिवेशनबाट पारित गरी भौतिक पूर्वाधार र जनशक्ति पुर्याएर पढाई शुरु गर्ने सहमति भएको छ ।

प्रदेश दुई,गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया एक वर्षभित्र अघि बढाउने, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने, चिकित्सा शिक्षा ऐन परिमार्जन गर्ने, अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गर्ने पनि सहमति भएको छ ।

सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली र डाक्टर केसी स्वयमले हस्ताक्षर गर्नु भएको छ । डाक्टर केसीको माग पुरा गर्न माग गर्दै केहिदिन देखि राजनैतिक दल, चिकित्सक लगाएत आम नागरिकले देशभर र्‍याली तथा शान्तिपूर्ण प्रर्शनन गरेका थिए ।

केसीका माग पूरा गर्नु पर्ने भन्दै नेपाल चिकित्सक संघले घोषणा गरेका आन्दोलन पनि फिर्ता लिएको छ ।

यसअघि सरकार र केसीबिच पटक पटक भएका सम्झौता समेत कार्यान्वय नभएकाले यो सहमति पनि कार्यान्वय हुनेमा डाक्टर केसीका सहयोगीले शंका गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *