Main News

जिल्ला प्रशासन कार्यालय धनुषाको लापरबाहीको भिडियो खिच्नेले कुटाइ खाएपछि…(भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २० गते २०:३५
जिल्ला प्रशासन कार्यालय धनुषाको लापरबाहीको भिडियो खिच्नेले कुटाइ खाएपछि…(भिडियोसहित)

२० असोज, २०७७, धनुषा । कोरोना महामारीमा समेत जिल्ला प्रशासन कार्यालय धनुषामा भिडभाड बढ्दा समस्या भएको छ । प्रशासनलाई सेवाग्राहीको चाप नियन्त्रण गर्न हम्मे हम्मे छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेका एक युवा कुटिएका पनि छन् । कार्यालयको प्राङ्गणमा लागेको भिडभाडको दृश्य खिचिरहेका युवालाई कार्यालयको माथिल्लो तल्लामा लगेर प्रहरीले कुटपिट गरेपछि अवस्था तनावग्रस्त बन्यो ।

छात्रवृतिसहितका परीक्षाका लागि नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका धनुषा हँसपुर नगरपालिका वडा नम्बर ४ झिसयाहीका राजकुमार मण्डल फर्म भरेर लाइन लाग्नुभयो । घण्टौं प्रतिक्षा गरे पनि पालो नपाएपछि केही गडबढी भएको भन्ने शंका लागेर कार्यालयभित्र जानुभयो ।

भित्र एकजना सुरक्षाकर्मी लाइनमा बस्नेको नभएर अरुकै काम गरिरहेको देखेपछि मोबाइल निकालेर भिडियो खिच्न थाल्नुभयो । भिडियो खिचेको देखेपछि प्रहरीले राजकुमारलाई समातेर माथिल्लो तल्लामा लगि दुई चड्कन लगाए ।

राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिएर कुटेपछि लाइनमा रहेका युवा तातिए र जिल्ला प्रशासन कार्यालयको भवनको मुख्य गेटमा जम्मा भएर होहल्ला गर्न थाले ।

युवा आक्रोशित हुन थालेपछि भिड हटाउन प्रहरीले लाठीजार्च गर्नु पर्‍यो । कोरोना महामारीका बेला पनि जिल्ला प्रशासन कार्यालयमा भिडभाड बाक्लो हुने गरेको छ । केही दिन अगाडि कार्यालयभित्र प्रवेश नै गर्न नदिने र भिडभाड नगर्न निर्देशन नै दिने कार्यालयमै बाक्लो भिड लाग्न थालेपछि सेवाग्राही कोरोना संक्रमण हुने डरमा छ ।

युवाहरुले प्रत्येक दिन सेवा प्रवाह हुन सम्भव रहेको संख्यामा मात्र सेवाग्राहीभित्र प्रवेश गराएर सेवा दिन आग्रह गरेका छन् ।

कार्यालय समयमा पहिला आएका र एक दिनमा सेवा दिन सकिनेलाई मात्र भित्र प्रवेश गराएर समाजिक दुरी पालनाका साथ सेवा दिनुपर्ने सेवाग्राहीको माग छ । यस्तो भिडमा लाइन बसेकाहरु फर्केर जानुपर्ने तर शक्ति र पैसावालाको काम भित्रभित्रै हुने गरेको सेवाग्राहीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *