Political Hightlights

पटकपटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक आज बस्दै

हिमालय टिभी
२०७७ असोज २० गते ७:३१
पटकपटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक आज बस्दै

२० असोज, २०७७ काठमाडौं । पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउनेबारे छलफल हुने छ ।

यस्तै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल हुनेछ । हिजो पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हाल खाली रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने मोटामोटी सहमति बनेको बुझिएको छ ।

आजको बैठकमा खाली रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयमा पठाउने व्यक्तिको बारेमा छलफल हुनेछ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

आजको बैठकमा डा. खतिवडासँगै अन्य राजनीतिक नियुक्तिका विषयमा पनि छलफल हुने नेकपाले जनाएको छ । नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो ।

तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिए पछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्