Main News

विराटनगर विमानस्थल पनि अब अन्तर्राष्ट्रियस्तरको बन्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते २०:४५
विराटनगर विमानस्थल पनि अब अन्तर्राष्ट्रियस्तरको बन्ने (भिडियोसहित)

१९ असोज, २०७७, विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्ने काम शुरु हुने भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा संघ, प्रदेश र स्थानीय सरकारबीच विमानस्थललाई ३ हजार मिटरको बनाउने त्रिपक्षीय समझदारी भएसँगै विराटनगर विमानस्थलको विस्तारको बाटो खुलेको छ ।

विराटनगर विमानस्थललाई ३ हजार मिटरमा विस्तार गरी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलकै स्तरमा पुग्ने गरी क्षमता अभिवृद्धि गरिँदैछ।

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगर विमानस्थल अहिले १५ सय मिटरको छ । यसलाई विस्तार गर्नका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र नागरिक उडड्यन प्राधिकरणबीच लागत साझेदारी अवधारणा अन्तर्गत त्रिपक्षीय समझदारी भएको छ ।

विमानस्थल स्तरोन्नतिका लागि प्रथम पक्ष अर्थात प्रदेश सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा जग्गा अधिग्रहण गर्नेछन् । यसको लागि हुने खर्चको ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमा दोश्रो पक्ष अर्थात नागरिक उडड्यन प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने समझदारीमा उल्लेख छ ।

विराटनगर विमानस्थललाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलको स्तरमै पुग्ने गरी अत्याधुनिक विमानस्थलको रुपमा विकास गरी सञ्चालनमा ल्याउन तिनै तहका सरकार सक्रिय हुनेछन् ।

विमानस्थलको विस्तारले अन्य थुप्रै पर्यटकीय सम्भावनाको सिर्जना गर्ने प्रदेश सरकारको विश्वास छ । लागत साझेदारी अन्तर्गतको नयाँ मोडेल अन्तर्गत विराटनगरमा विमानस्थल नेपालकै नमूना विमानस्थलको रुपमा विकास हुने प्रदेश सरकारको दाबी पनि छ ।

नयाँ संरचना र नयाँ मोडेलसहित निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको विराटनगर विमानस्थलले समृद्धिको आधार तय गर्ने स्थानीय सरकारलाई लागेको छ ।

हाल एक सय १५ बिघा क्षेत्रफल रहेको विराटनगर विमानस्थलको धावनमार्ग एक हजार चार सय मिटरको छ । अहिले ७२ सिट क्षमता भएका पाँचवटा जहाज राख्न मिल्ने वायु यान एप्रोन, धावनमार्ग र एप्रोनलाई जोड्ने दुईवटा ट्याक्सी वे, वायुयान पथ, रात्रि उडान र अवतरणका लागि एयरफिल्ड लाइटिङ सिस्टम, अग्निनिवारण तथा उद्धार सेवा, हवाई इन्धन, हवाई सञ्चार सेवा, हवाई ट्राफिक नियन्त्रक सेवा, मौसमी सेवाजस्ता पूर्वाधारहरू यहाँ छन् ।

अब विमानस्थलको विकास, विस्तार र स्तरोन्नति सम्बन्धि प्राविधिक प्रतिवेदन तयार गरी त्यस अनुरुप काम अघि बढाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *