राजनीति

प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयले नेकपामा लफडा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १७ गते २०:४६
प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयले नेकपामा लफडा (भिडियोसहित)

१७ असोज, २०७७, बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै विवाद भएको छ । विवादका बीच नेकपा प्रदेश ५ संसदीय दलले सरकारले ल्याएको प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएको छ । १४ जना सांसदले दाङ होइन, बुटवल राजधानी बनाउनु पर्ने अडानसहित ‘नोट अफ डिसेन्ट’ लेखेपछि नेकपाले ह्वीप लगाएको हो ।

प्रदेश सरकार र प्रदेश सभाको पहिलो काम हुनुपर्थ्यो प्रदेशको राजधानी र नाम टुंगो लगाउने । तर त्यसो हुन सकेन । लामो रस्साकस्सी विवादकाबीच प्रदेश ५ ले आफ्नो नाम र राजधानी तय गर्न प्रस्ताव लगेको छ तर यसले सत्तारुढ नेकपामै विवाद चर्केको छ । नेकपा प्रदेश ५ संसदीय दलले स्थायी राजधानी र नामकरणको प्रस्ताव पारित गर्ने निर्णयमा साविकको लुम्बिनी अञ्चलका सांसदले विरोध गरेका छन् । बुटवलबाट राजधानी खोसिनुलाई उनीहरुले निको मानेका छैनन् ।

शुक्रबार प्रदेशको स्थायी राजधानी भालुवाङ र नामकरण लुम्बिनी राख्ने प्रस्ताव पेश भएपछि नेकपाले शनिबार संसदीय दलको बैठक बोलायो । बैठकमा सहभागी साविक लुम्बिनी अञ्चलका सांसदले बुटवलमै राजधानी राख्नुपर्ने माग गरे । १४ जना सांसदले त त्यसमा फरक मत नै दर्ज गरे । तर शनिबार मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकले व्हीप लगाएरै भए पनि सरकारले ल्याएको प्रस्तावलाई पारित गर्ने निर्णय गर्‍यो । बैठकमा सहभागि सांसदले प्रस्ताव माथि आफ्ना मत राखे पनि प्रस्तावको पक्षमा मतदान गर्ने दलको विश्वास छ ।

विवाद भएपछि मुख्यमन्त्री पोखरेलले विश्वासमा लिने कोशिस गर्दै पक्षमा मतदान गर्न निर्देशन दिनुभयो । आफ्नो दलमै विवाद देखिए पनि नेकपाले सर्वसम्मत प्रस्ताव पारित हुने आशा गरेको छ । अनि सर्वदलीय बैठकमा सहमति खोज्ने गृहकार्य पनि अघि बढाएको छ ।

प्रदेश सभामा आफ्ना विचार निर्वाध रुपमा राख्न पाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने कतिपय सांसदको मत छ । सरकारले हिजो प्रदेश सभामा प्रस्ताव पेश गरे लगत्तै बुटवल राजधानी बनाउन भन्दै आन्दोलन भैरहेका बेला नेकपाका १४ सांसदले दाङ राजधानी बनाउने प्रस्तावको विरोध गरेका हुन ।

८७ सदस्यीय प्रदेश सभामा नेकपाका ६१, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् । प्रदेशको राजधानी र नाम तोक्न दुई तिहाई अर्थात ५८ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्