Political Hightlights

आन्तरिक विवाद समाधान गर्न कांग्रेसभित्र शीर्ष तहमा छलफल शुरु

हिमालय टिभी
२०७७ असोज १७ गते १९:२८
आन्तरिक विवाद समाधान गर्न कांग्रेसभित्र शीर्ष तहमा छलफल शुरु

१७ असोज, २०७७ काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसभित्र शीर्ष तहमा छलफल शुरु भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग पुरा नभए सभापति शेरबहादुर देउवाविरुद्ध आन्दोलन घोषणा गरेपछि सहमतिका लागि छलफल थालिएको हो ।

केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि सहमति जुटाउने प्रयासमा आज शीर्ष नेताबीच छलफल भएको छ । आज पार्टी कार्यालय सानेपा बसेको तीन वटै पक्षको बैठकमा पौडेल पक्षले दर्ता गराएको विरोध पत्रको बारेमा छलफल भएको छ ।

पदाधिकारी, पूर्व पदाधिकारी र युवा पुस्ताका केही नेता सहभागी बैठकमा केन्द्रीय कार्यसमितिको बैठकअघि पौडेल पक्षको माग सम्बोधन गर्ने, केन्द्रीय समितिमा पेश गर्ने प्रस्ताव र सरकारविरुद्धको आन्दोलनबारेलगायतको विषयमा छलफल भएको छ ।

बैठकमा सहभागी कांग्रेस नेता एनपी साउदकाअनुसार पदाधिकारीबाट महामन्त्री पूर्णबहादुर खड्काले पौडेल पक्षले राखेको मागलाई सम्बोधन गरेर महाधिवेशनमा जुट्नुपर्ने बताउनुभएको छ ।

पार्टीभित्रको विवाद समाधानको लागि सबै लचिलो हुनुपर्ने उहाँको मत छ । संसद्को विशेष अधिवेशन बोलाउनका लागि तीनवटै पक्ष सकारात्मक छन् । पौडेल पक्षले दर्ता गरेको विरोध पत्रको विषयमा भोलि उपसभापति विमलेन्द्र निधिले बोल्नुहुनेछ ।

छलफलमा सभापति देउवा‚ वरिष्ठ नेता , उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव‚ सहमहामन्त्री डा प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा ,नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंहलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्