Main News

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिव र ६७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

हिमालय टिभी
२०७७ असोज १७ गते १८:२६
प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिव र ६७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

१७ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रवेश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका ३ जना सल्लाहकारसहित निजी सचिवालयका केही सदस्यमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सचिवालयमै कार्यरत केही सवारी चालक र सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । केहीको रिपोर्ट आउनै बाँकी छ । बालुवाटारमा कार्यरत २८ जना सैनिक, १९ जना प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका २ र १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका २८ जना सैनिकमा कोरोना पुष्टि भएको र उनीहरु कोही पनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीका संक्रमित पनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नआउनेहरु हुन् । कोरोना संक्रमण भएको सार्वजनिक गरेका प्रधानमन्त्रीका तीनै जना सल्लाहकारले सम्पर्कमा आएकाहरुलाई कोरोनाको पीसीआर परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाह र फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *