उपत्यकामा जोरविजोर प्रणाली थप प्रभावकारी बनाउन चेकचाँचमा कडाइ

१३ असोज, २०७७ काठमाडौं । ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुने गरी उपत्यकाभित्र जोरविजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोरविजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियमाअनुासर जोरविजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ट्राफिक कारवाहीमा ८ सयभन्दा बढी सवारी परेका छन् ।
करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएका सवारी साधनलाई साँझ ८ बजे मात्रै छाड्ने बताइएको छ । संक्रमणको जोखिम बढ्दै गएकाले जोरविजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।
प्रतिक्रिया