संस्कृत विद्यालयले पनि अनलाइनबाट पढाउँदै (भिडियोसहित)
१० असोज, २०७७ जनकपुरधाम । लकडाउनले प्रताडित शिक्षा क्षेत्रमा निजीका साथ साथै सामुदायिक विद्यालयले समेत वैकल्पिक वाटो अवलम्बन गर्न थालेका छन् ।
जनकपुरधामका सामुदायिक विद्यालयले अहिले प्रविधिको प्रयोग गर्दै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । विद्यालयले उपकरण नभएकाका लागि वैकल्पिक उपायसमेत अपनाएका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित श्री ज्ञानवल्क्य संस्कृत नमूना माध्यमिक विद्यालय ज्ञानकूपले अनलाइन प्रविधिमार्फत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई पढाउन थालेको छ । अनलाइन कक्षा लिन पाएपछि विद्यार्थी पनि खुसी छन् ।
विद्यालय व्यवस्थापनले इन्टरनेट, मोबाइल, ल्यापटपसहितका आवश्यक उपकरण नभएका गरिव विपन्नहरुको हकमा भने वैकल्पिक बाटोसमेत अपनाएको छ । प्रधानाध्यापकसहित शिक्षकको समूह विद्यार्थीको घरघर पुगेर जानकारी लिदै प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीको समूह बनाएर समुदायमै गएर अध्यापनको व्यवस्थासमेत गरेको छ ।
प्रविधिको पहुँचमा आउन नसक्ने विद्यार्थीलाई भिडियो रेकर्डिङ्ग, नोटसमेत निःशुल्क वितरण भइरहेको छ । विद्यालयले समुदायमै पुगेर अनलाइनबाट पढाई लेखाई हुने भन्दै नयाँ भर्नासमेत लिने तयारी गरेको छ । विद्यालयका शिक्षक र व्यवस्थापकहरु समुदायमै पुगेर पढाई लेखाईका लागि पहल गरेपछि अभिभावकले राहत महशुस गरेका छन् ।
लकडाउनले लामो समय पठपाठन रोकिँदा छोराछोरीको भविष्यप्रति चिन्तित बनेका अभिभावक छोराछोरीको पढने वातावरण बन्न थालेपछि हर्षित छन् ।
प्रतिक्रिया