विपन्न नागरिकले कहाँ कसरी पाउँछन् निशुल्क उपचार ? यस्तो छ व्यवस्था (भिडियोसहित)

९ असोज, २०७७ काठमाडौं । स्वास्थ्य सेवा सहज रुपमा पाउनु नागरिकको मौलिक हक हो । तर पनि पैसा अभावकै कारण आम नागरिक उपचार पाउनबाट बञ्चित छन् ।
पैसाकै कारण उपचारबाट नागरिक बन्चित नहोउन् भनेर सरकारले विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क आकस्मिक उपचार सेवा दिन थालेको छ ।
सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४ बमोजिम गरिब तथा विपन्न वर्गलाई अस्पतालरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने उदेश्यले कार्यविधि बनाएर लागू गरेको छ ।
यो कार्यविधि अनुसार केन्द्रीय र प्रादेशिक अस्पताल गरी १४ वटा अस्पतालमा लागु हुनेछ । १४ मध्ये गंगालाल अस्पताल,राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालमा यो कार्यक्रम शुरु भैसकेको छ ।
अब कार्यक्रम लागू भएका ३ वटा अस्पतालमा पुगेका विपन्न तथा गरिब नागरिकले पैसाको अभावका कारण उपचारमा समस्या झेल्नुपर्ने छैन । जसले गर्दा आम नागरिकलाई सहज हुने अपेक्षा छ ।
यो सेवा गरिव परिवारको परिचय पत्र भएका, स्थानीय तहको सिफारिस भएका, उपचार खर्च नभएका, साथमा कोही नभएका वा तेस्रो व्यक्तिले अप्ठ्यारो परी अस्पताल लगेका र बेवारिसे व्यक्तिले निःशुल्क उपचार पाउनेछन् । गरिब तथा विपन्न नागरिकले कार्यक्रम लागू भएका अस्पतालको सामाजिक सुरक्षा इकाईमा गएर यो सेवा लिन सक्नेछन् ।
कोशी अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थेरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टर, विपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, वीर अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, महाकाली प्रादेशिक अस्पतालमा पनि गरिब परिवारका लागि निशुल्क उपचार कार्यक्रम लागू हुने अस्पतालको सूचिमा छन् ।
प्रतिक्रिया