देशका विभिन्न भागमा आज पनि झरी जारी रहने

९ असोज, २०७७ काठमाडौं । विगत केही दिनदेखि परिरहेको झरी आज पनि कायम रहने भएको छ।
देशभर आज दिउँसोको मौसममा सामान्यदेखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैबीच नारायणी नदीमा पानीको बहाब उच्च हुँदा गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दामाथि पुगेको छ ।
हिजो दिउँसो ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेको ब्यारेजमा बेलुका ४ लाख १० हजार क्युसेक पानीको बहाब थियो ।
यसैबीच विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ ।
बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र एक दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी छ । सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ ।
अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।
प्रतिक्रिया