Main News

कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुर आन्दोलित

हिमालय टिभी
२०७७ असोज ६ गते १३:२७
कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुर आन्दोलित

६ असोज, २०७७ काठमाडौं । कोभिड–१९का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् ।

पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिनभित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो ।

संघर्ष समितिका संयोजक प्रकाश घायल राईले लकडाउनका कारण लामो समयदेखि श्रम गर्न नपाउँदा भोकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाई नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा आफुहरु पुगेको बताउनुभयो ।

उहाँले तत्काल ‘मजदुर कल्याणकारी कोष’को रकमबाट आफूहरुलाई राहत दिनुपर्ने माग समेत गर्नुभयो । धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएको उहाँले बताउनुभयो ।

आफूहरुले ५ वर्षयता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्नसमेत सरकारी निकायहरुले नमानेको उहाँले बताउनुभयो ।

आफैले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदुरहरु समस्यामा परेको उहाँको गुनासो छ । सरकारबाट लाइसेन्स प्राप्त २५ हजार मजदुरहरु अहिले समस्यामा परेकाले तत्काल राहत दिन माग गर्नुभयो । अबको केही दिनभित्रमा राहत नपाए सबै मजदुर सडका उत्रने स्थिति आउने बताउनुभयो ।

विपद्को बेलामा भोक लाग्यो भन्दा सरकारी निकायबाट सुनुवाई हुँदैन भने आफुहरु बैचारिक र भौतिक रुपमा आन्दोलनमा उत्रने र त्यसबाट दुर्घटना भए जिम्मेवारी सरकारले लिनुपर्ने राईको भनाई छ ।

गत वर्षको चैत महिनायता कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प छ । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *