सचिवालय बैठकमा प्रवेश गर्न खोजेपछि नेकपा कार्यकर्ता बालिका खड्का पक्राउ
४ असोज, २०७७ काठमाडौं । नेकपाको सचिवालय बैठकमा प्रवेश गर्न खोजेपछि प्रहरीले नेकपाकै कार्यकर्ता बालिका खड्कालाई पक्रेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग सम्बन्ध रहेको दावी गर्दै आएकी खड्का पेरिसडाँडामा प्रवेश गर्न खोजेपछि प्रहरीले पक्रेको हो ।
नेताहरुलाई कुरा राख्नु छ भन्दै जबरजस्ती प्रवेश गर्न खोजेपछि खड्कालाई पक्रेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री तथा अन्य शीर्ष नेतासहितको बैठक बस्ने भएपछि पेरिसडाँडा कार्यालय र वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै मुद्दा दर्ता गरेकी खड्काले गत साता मुद्दा फिर्ता लिनुभएको थियो ।
आफूलाई शेरधनकी श्रीमती भएको दाबी गर्दै मुद्दा दिने दोलखाको कालिन्चोक गाउँपालिका ४ की ३२ वर्षीय खड्काले बुधबार मुद्दा फिर्ता लिनुभएको थियो ।
मुद्दा फिर्ताका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदनमा शेरधनसँग अंश दाबी गर्नका लागि श्रीमान श्रीमतीको नाता कायम नभएको र हुन सक्ने आधारसमेत नभएको र वास्तविक रुपमा समेत त्यस्तो सम्बन्ध नरहेको उल्लेख छ।
खड्का आज पेरिसडाँडा के भन्न गएको भन्ने नखुले पनि प्रदेश १ का मुख्यमन्त्री राईसँगै सम्बन्धित विषय हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया