९३ वर्षअघि नै आएको थियो नेपालमा रेल, यस्तो छ इतिहास (भिडियोसहित)

२ असोज, २०७७ काठमाडौं । आज आइपुगेको रेल नेपालमा गुडेको र आफ्नै स्वामित्व भएको पहिलो रेल हैन । आज भन्दा झन्डै सय वर्षअघि नै नेपालमा रेल गुड्न थालेको थियो । नेपालमा रेलको इतिहास यस्तो छ–
नेपाली भूमिमा आजभन्दा ९३ वर्षअघि नै रेल गुडेको थियो । सन् १९२७ मा ब्रिटिस इन्डियाले भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म रेलमार्ग बनाएर रेल गुडाएको थियो ।
अमलेखगञ्ज आसपासको घना जंगलको काठ भारत लैजान ब्रिटिसले यो रेलमार्ग बनाएका थिए । तर पछि सडक बनेपछि यो रेलमार्ग बन्द गरियो ।
अमलेखगञ्ज रक्सौल रेलमार्ग बनेको १० वर्षपछि विक्रम संवत १९९४ मा जंगलबाट काठ ओसार्न जनकपुर( जयनगर रेलमार्ग बनाए । शुरुमा जनकपुरसम्म २९ किलोमिटर रेलमार्ग भएकोमा पछि यसलाई महोत्तरीको बिजलपुरासम्म विस्तार गरिएको थियो ।
२०५९ सालसम्म विजलपुरादेखि जयनगरसम्म दैनिक ३ पटक रेल ओहोर( दोहोर हुने गरेको थियो । तर ५९ को बाढीले बिग्ही पुल र केही लिक बगाएपछि यो रेलसेवा जनकपुरसम्म मात्र सिमित भयो ।
ब्रिटिस इन्डियाले बनाएको रेलमार्गमा रेल पनि उसैले चलाउँथ्यो । शुरुमा इन्धनका रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि औपचारिक रुपमा यात्री ओसारपसार गर्न थालेको थियो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो ।
पछि २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । २०५१ सालमा भारतले १८ डिब्बासहित चार वटा डिजेल पावर इञ्जिन सहयोग गरेपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो ।
२०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेपछि नेपाल रेल्वेका रूपमा चिनियो ।
धरान भीमनगर मार्गमा सन् १९५८ देखि १९६२ सम्म रेल चलेको थियो । कोशी बाँधका लागि धरानबाट ढुंगा ओसार्न यो रेल चलाइएको थियो । ढुंगा बोक्ने भएकाले यो रेललाई ढुंगे रेल भनिन्थ्यो । तर यसलाई पनि संरक्षण गरिएन । र पछि बन्द भयो ।
प्रतिक्रिया