Main News

संक्रमितको घर निर्मलीकरण र शव व्यवस्थापनमा युवा संक्रियता (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २ गते १८:३९
संक्रमितको घर निर्मलीकरण र शव व्यवस्थापनमा युवा संक्रियता (भिडियोसहित)

२ असोज, २०७७, विराटनगर । पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बनेको छ विराटनगर । यो संकटको समयमा एक युवा समूह भने सधैँ संक्रमितको घरघरमा भेटिन्छन् । ६ जनाको यो समूहले संक्रमितको घर, अफिसलाई निर्मलीकरण गर्नुका साथै संक्रमितको शव व्यवस्थापनको काम पनि गरिरहेको छ ।

विराटनगर बगरगाछीका छ जना युवाले ‘कोभिड १९ डिसइन्फेक्सन स्यानिटाइजेसन टिम तयार गरेका छन् । यही टिमले सावधानी अपनाउँदै कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्दै आएको छ । स्थानीय प्रशासनले परीवारिक सदस्यबाट समेत संक्रमितको शव व्यवस्थापन गर्न सक्ने बाटो खोलिदिएपछि यो समूहले जिम्मेवारी सम्हालेको हो ।

शुरुवाती दिनमा यो टीमले सामान्य छलफल गरी कोरोनाबाट सुरक्षित हुन अपनाउनुपर्ने उपाय सुझाउँदै आएको थियो । यही काम गर्ने क्रमसँगै उनीहरुलाई धेरै ठाउँबाट हौसला मिल्यो । उनीहरुले स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री पनि पाए । युवाको कामले अझ गति लिँदै गयो । पछिल्लो समय संक्रमितको शव व्यवस्थापनमा सक्रिय समूहले सबैको वाही–वाही पाइरहेकोछ ।

विपन्नलाई खाद्यान्न उपलब्ध गराउने, सुरक्षाकर्मीलाई खाजा खुवाउने, खरिद गर्न नसक्नेलाई मास्क वितरण गर्न पनि यो समूह सक्रिय छ । कोरोना कहरमा समाजसेवामा जुटेका उनीहरु तिन पटक क्वारन्टिनमा बसीसकेका छन् । यो समयमा सबैले आ–आफनो ठाउँबाट सहयोग गरे संकटलाई चाँडै परास्त गर्न सकिने स्वयंसेवी युवाको बुझाइ छ ।

समूहले तीन सय पचास घर, स्थानीय तहका कार्यालय र ६० कोरोना संक्रमितको घर डिसइन्फेक्सन गरिसकेको छ । संकटको समयमा राज्यको मात्र मुख ताक्ने भन्दा पनि आफनो ठाउँबाट सबैले सचेत र सुरक्षित भएर कोरोना विरुद्धको लडाईमा जुट्नु पर्ने युवा समूहले सन्देश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *