Main News

उपत्यकामा होटल र रेष्टुरेन्ट सञ्चालनमा लागेको रोक आजबाट हट्यो

हिमालय टिभी
२०७७ असोज १ गते ७:३२
उपत्यकामा होटल र रेष्टुरेन्ट सञ्चालनमा लागेको रोक आजबाट हट्यो

१ असोज, २०७७ काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक आजदेखि हटाइएको छ ।

निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवे मात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर बिजोर प्रणाली अर्को आदेश नहुँदासम्म कायम रहने छ ।

काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नहुँदासम्म खुला गरिएको छ । मन्त्रिपरिषद्ले आजदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य सावधानी कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको हो ।

यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बारअनुसार खोल्ने पाउने गरी गरिएको आदेश आजदेखि लागू हुने छैन ।

उपत्यकामा सबैखाले पसल सबै बार खोल्न पाइने छ । यो पनि अर्को आदेश नहुँदासम्म स्वास्थ्यसम्बन्धि सावधानी अपनाएर खोल्न दिइएको हो ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् । सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन ।

यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ । चाडपर्व नजिकिएसँगै निषेधाज्ञामा लचकता अपनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *