Main News

पूर्व प्रधानन्यायाधीश सिंहको एक सय वर्षको उमेरमा निधन

हिमालय टिभी
२०७७ भदौ ३१ गते ९:४९
पूर्व प्रधानन्यायाधीश सिंहको एक सय वर्षको उमेरमा निधन

३१ भदौ, २०७७ काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा हिजो साँझ साँढे सात बजे निधन भएको हो । चिकित्सकका अनुसार निमोनियाका कारण सिंहको निधन भएको हो ।

वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गर्नुभएका सिंह वि.सं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गर्नुभएको थियो । सिंह २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि हुनुभएको थियो ।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व गर्नुभएको थियो ।

न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका लागि २०१५ सालबाट नेपाल कानुन पत्रिकाको प्रकाशन आरम्भ गर्नुभएको थियो । सिंह २०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष पनि हुनुभएको थियो ।

त्यसपछि सिंह कानुन, वनलगायतका मन्त्री पनि हुनुभएको थियो । २०३२ सालमा सिंहलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा सिंह नियुक्त हुनुभएको थियो ।

२०४२ साल बैशाख ३० गतेसम्म अख्तियार प्रमुख बन्नुभएका सिंह त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *