राजनीति

सांसद बन्न बामदेव गौतमले के–के गरे ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३० गते १७:३१
सांसद बन्न बामदेव गौतमले के–के गरे ? (भिडियोसहित)

३० भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमको सांसद बन्ने सपना ६ महिनापछि पुरा हुने भएको छ । गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट जोगाइदिए वापत् उपहार स्वरुप राष्ट्रिय सभामा जाने सपना पूरा हुने भएको हो ।

पार्टी सचिवालयले गत फागुन १४ गते नै राष्ट्रिय सभामा पठाउने निर्णय गरेपनि के कारणले ढिलाई भएको थियो ? कतिऔं प्रयासले गौतमको सांसद बन्ने सपना पूरा हुँदैछ त ?

२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दा नेकपाका उपाध्यक्ष वामदेव गौतमले अबको प्रधानमन्त्री मै हुँ भन्ने घोषणा गर्दै चुनाव प्रचार गर्नुभएको थियो । तर, प्रधानमन्त्री बन्ने गौतमको चाहनामा जनताले तुषारापात गरिदिए । चुनाव हारेपछि पनि गौतमले त्यसका लागि लविङ गर्न छोड्नु भएन ।

आफूलाई पार्टीभित्रैबाट षड्यन्त्र गरी हराइएको भन्दै प्रतिनिधिसभामा जाने दावी पेश गरिरहनुभयो । नगर्नु पनि कसरी रु तत्कालीन चुनावी सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अघिनै तीनतीन जनालाई प्रधानमन्त्री बनाएँ, अब गौतमलाई बनाउने हो भनेर हाकाहाकी भन्नुभएको थियो । संभवतः यही आड भरोसाका कारण हुनसक्छ गौतमले चुनाव हारेपछि पनि धैर्यता देखाउनुभएन । यो बीचमा संसद छिर्न गौतमले गरेका प्रयासको लामो श्रृङखला छ ।

सबैभन्दा पहिले डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर चुनाव लड्न गौतमले कोसिस गर्नुभयो । गौतमकै पहलमा पर्यटन राज्यमन्त्री भएका बुढाले राजीनामा दिने आश्वासन पनि दिनुभयो । तर, जिल्लामा सबैलाई मनाएर आउँछु भन्दै गएका बुढा काठमाडौं नफर्केपछि गौतमको पहिलो गाँसमै ढुंगा लाग्यो । तर, गौतमको प्रयास रोकिएन ।

दैलेख, बाँके, प्यूठान र नवलपरासीका सांसदलाई राजीनामा गर्न लगाएर चुनाव लड्ने तयारी पनि भयो । तर, त्यहाँका कसैले पनि राजीनामा दिन मानेनन् । बरु सार्वजनिक रुपमै गौतमको चर्को आलोचना भयो । यसका बाबजुद पनि गौतमले हार मान्नुभएन ।

गौतमको चाहना पुरा गर्न काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले आफ्नो क्षेत्रबाट चुनाव लडाउने भन्दै पदबाट राजीनामा नै दिनुभयो । तर, गौतमको यो सातौ सपना पनि पूरा हुन सकेन । प्रधानमन्त्री ओलीले आफुलाई समेत थाहा नदिई राजीनामा आएको भन्दै चर्को असन्तुष्टि जनाएपछि गौतमपछि हट्न बाध्य हुनुभयो । यति हुँदाहुँदै पनि गौतमको चाहना भने मरेको थिएन ।

आठौं प्रयास स्वरुप गौतमको आँखा तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली भएको कास्की–२ मा पुगेको थियो । तर, बर्दिया १ मा जस्तै पार्टीभित्रै नेताले हराउने डरले उहाँ त्यहाँबाट पनि पछि हट्नुभयो । गौतमले चुनावमा उठाएर आफुलाई हराउने षडयन्त्र भएको महसुस गर्दै रवीन्द्र पत्नि विद्या भट्टराईको पक्षमा विज्ञप्ति नै निकाल्नुभयो । कास्कीबाट पनि सफलता नपाएपछि गौतमका लागि प्रतिनिधिसभाको बाटो समाप्त भयो ।

त्यसपछि गौतमले राष्ट्रियसभातिर आँखा डुलाउनुभयो । संविधान संशोधन गरेर भएपनि प्रधानमन्त्री बन्ने लक्ष्यका साथ राष्ट्रियसभामा जान खोजेपनि फेरी प्रधानमन्त्री ओली तगारो बन्नुभयो । संविधान संशोधन नगर्ने र प्रधानमन्त्री बन्न नपाउने हो भने राष्ट्रिय सभामा नजाने गौतमको अडान रह्यो । तर, पार्टीभित्रको गुटगत समीकरणका कारण गौतम बिनासर्त राष्ट्रिय सभामा जान तयार हुनुभयो । र, फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्‍यो ।

तर, पहिले राष्ट्रिय सभामा जान नचाहेका गौतम बिना सर्त जान खोजेपछि सचिवालयको निर्णयलाई नै प्रधानमन्त्रीले अलपत्र बनाइदिनुभयो । र, गौतम लामो समय चुपचाप बस्नुभयो । तर, आफ्नै व्यवहारका कारण ओलीको सत्ता संकटमा पर्दै थियो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि ओलीको पार्टीभित्रै राजीनामा माग भयो । त्यसलाई असफल पार्न सचिवालयमा बहुमत पुर्‍याउने खेलमा प्रधानमन्त्री ओली लाग्नुभयो ।

बैशाख २० गते बसेको सचिवालय बैठकमा गौतमलाई ओलीले प्रधानमन्त्रीको रुपमा अघि सारेपछि राष्ट्रिय सभामा जाने सपनालाई खासै वास्ता गर्नुभएन । र, २० गते नै गौतमको राष्ट्रिय सभामा जाने च्याप्टर क्लोज भएको भनेर प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिँदै आउनुभयो ।

एकमाथि अर्को विवादमा मुछिएका ओलीको असार १० गतेदेखि पार्टीको स्थायी कमिटी बैठक झन ठूलो संकट बनेर आयो । भारतले नेपालका शक्तिसँग मिलेर मलाई हटाउन खोज्यो भनेपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा माग भयो । र, लामो समय पार्टी बैठक नै अलपत्रमा पर्‍यो । पार्टी फुट्कै स्थिति पनि देखा पर्‍यो । तर, उपाध्यक्ष गौतमले ‌ओलीको सत्ता संकट टर्ने गरी ६ बुँदे सहमतिको प्रस्ताव पेश गर्नुभयो ।

गौतमको प्रस्तावले सत्ता जोगिएपछि यस पटक भने ओली गौतमको सपना पूरा गर्न तयार हुनुभएको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडालाई दोहोराउन चाहेक ओलीको चाहनामा गौतम वाधक बन्नुभएको थियो । र, सत्ता संकट जोगाए वापत् गौतमको सपनालाई मार्न ओलीले सक्नुभएन ।

तर अब राष्ट्रिय सभामा राष्ट्रपतिबाट बनोनयन गर्ने कोटामा सरकारले सिफारिस गर्ने निर्णयसँगै गौतमको संसद छिर्ने सपना पूरा हुँदैछ । नेकपाभित्र खेलैनाको पात्र भएका गौतमको राष्ट्रिय सभाको प्रवेशले पार्टीमा गुटगत समिकरण मिले पनि सरकारमा भने तात्विक असर पर्ने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्