Main News

चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसी जुम्ला पुगेर अनसनमा

हिमालय टिभी
२०७७ भदौ २९ गते १६:५१
चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसी जुम्ला पुगेर अनसनमा

२९ भदौ, २०७७ काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले जुम्लामा अनशन शुरु गर्नुभएको छ ।

जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा केसीले १९ औं सत्याग्रह सुरु गर्नुभएको हो । निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताका लागि सत्याग्रह शुरु गरेको केसीले बताउनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने केसीका माग छन् ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याएर सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न पनि केसीले माग गर्नुभएको छ ।

मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्न केसीले माग गर्नुभएको छ ।

केसीले राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानून बमोजिम छानविन र कारवाही गर्न माग गर्नुभएको छ ।

यी प्रकरणका दोषीलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएको केसीको दावी छ । केसीले अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तमाथि पनि कानुन बमोजिम छानबिन र महाभियोग लगायतका कारवाही गर्न पनि माग गर्नुभएको छ । अख्तियारका आयुक्त र अन्य भ्रष्टाचार काण्डमा मुछिएकाहरुमाथि सम्पत्ति शुद्धिकरणको छानबिन गर्न पनि केसीले माग गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *