Main News

भारतसँग सीमा जोडिएका क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै सशस्त्र प्रहरी बल

हिमालय टिभी
२०७७ भदौ २९ गते १०:०५
भारतसँग सीमा जोडिएका क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै सशस्त्र प्रहरी बल

२९ भदौ, २०७७ बैतडी । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ ।

भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायकघाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बीओपी स्थापनाको तयारी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।”

बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ । सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले जिल्ला तीन ठाउँमा बीओपी स्थापना गरिसकेको छ । जिल्लाको झुलाघाट नाका, पञ्चेश्वर रोलघाट र शिवनाथको कुस्मौत घाटमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेर सेवा दिइरहेको छ ।

सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा रोक लगाउनका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालका लागि भौतिक संरचना अभाव भए पनि सशस्त्र प्रहरीले भाडाका भवनमा बसेर समेत सेवा दिइरहेको छ ।”

विस २०७५ मा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीमा स्थापना भएको थियो । उक्त गुल्म सदरमुकामस्थित गढीमा रहेको छ । त्यसपश्चात यही भदौ २५ गते भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाट, गत असार १६ गते पञ्चेश्वर गाउँपालिकाको रोलघाट र गत जेठ १० गते सीमानाका झुलाघाटमा बिओपी स्थापना भएको थियो ।

कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बीओपी रहेका छन् । नेपाल सरकारले पनि सोहीअनुपातमा बीओपी थप्ने तयारी गरेको हो ।

सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण सीमा सिल भएपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बीओपीमा रूपान्तरण गर्ने सरकारी तयारी रहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *