Main News

सरकारी अस्पतालहरु कोभिड अस्पतालमा रुपान्तर, मर्कामा गैरकोभिड बिरामी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २८ गते २०:५५
सरकारी अस्पतालहरु कोभिड अस्पतालमा रुपान्तर, मर्कामा गैरकोभिड बिरामी (भिडियोसहित)

२८ भदौ, २०७७ काठमाडौं । सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका बिरामीको उपचारमा समस्या देखिएको छ । कोरोना संक्रमणको दर बढेसँगै सरकारी अस्पतालमा कोरोनाका विरामी र अन्य रोगका विरामीको चाप पनि बढ्दै गएको छ ।

हिजो आज अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको संख्या बढ्दो छ । सरकारी अस्पताललाई पनि कोभिड अस्पतालका रुपमा रुपान्तरण गरिएपछि अन्य रोगका बिरामीको उपचारमा समस्या भैरहेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरेको अनुगमनले अन्य रोगका बिरामी उपचार सेवाबाट बञ्चित भएको पाइएको छ । जनशक्तिको अभाव र व्यवस्थापकीय प्रबन्धका कारण अन्य रोगका बिरामीको उपचारमा समस्या भएको चिकित्सकको गुनासो छ ।

एकातिर यो समस्या छ अर्कोतिर सरकारले वाचा पुरा नगर्दा स्वास्थ्यकर्मीको मनोबल खस्किने अवस्था छ । सरकारी सेवा सुविधाका कारण आमनागरिकको रोजाइ बन्ने गरेको शिक्षण अस्पतालमा अहिले सेवाग्राहीको संख्या कम हुँदा आयस्रोत पनि खस्किँदै गएको छ ।

गत महिनासम्म अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई समयमै तलब खुवाए पनि यो महिनादेखि समस्या हुने अवस्था छ । सरकारले कोरोनाको उपचारमा खटिनेलाई दिने भनेको प्रोत्साहन भत्ता पनि अहिलेसम्म स्वास्थ्यकर्मीले पाउन सकेका छैनन् ।

अनुगमनका क्रममा संसदीय समितिले कोरोना संक्रमित र अन्य बिरामीको एउटै अस्पतालमा उपचार गराउँदा जोखिम अझ बढ्ने खतरा देखेको छ । त्यसैले विशेष परिस्थितिको व्यवस्थापन गर्न र अस्पतालको आर्थिक समस्या पनि समाधान गर्न संसदीय समितिको सरकारलाई सुझाव छ ।

संसदीय समितिको यो सुझावलाई सरकारले बेलैमा ध्यान दिए बिरामीले उचित उपचार पाउने थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *