Main News

सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा गएको पहिरोमा १८ घर पुरिए, ठुलो जनधनको क्षति

हिमालय टिभी
२०७७ भदौ २८ गते ९:२८
सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा गएको पहिरोमा १८ घर पुरिए, ठुलो जनधनको क्षति

२८ भदौ, २०७७, काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नागपुजे र भीरखर्कमा गएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।

एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ८ घर र भीरखर्कमा १० घर पूर्ण रुपमा बगाएको स्थानीय शिक्षक बजिर सिंह भण्डारीले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार १७ जनाभन्दा बढी बेपत्ता छन् ।

पहिरोमा वेपत्ता भएकामध्ये ३ जनाको शव फेला परेको छ । त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएका छन् । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ ।

अहिले नेपालो सेना, सशस्त्र र नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ८ घण्टायता ठूलो वर्षा भएको छ ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो जाँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् ।

यसैबीच पहिरो अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गर्नु भएको छ । सभामुख सापकोटमा पहिरोबाट प्रभावितलाई भेट्न स्थलमार्ग हुदै त्यस तर्फ लाग्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *