वरियता मिचेर कार्यकारी निर्देशक नियुक्त गरेकोमा डा. केसीद्वारा विरोध

२५ भदौ, २०७७ काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग राखेर पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेको भन्दै विरोध जनाउनुभएको छ ।
त्रिवि कार्यकारी परिषदको अस्तिको बैठकले अर्थोपेडिक सर्जन प्राध्यापक डाक्टर दिनेश काफ्लेलाई त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
जुम्लामा रहेका केसीले आज विज्ञप्ति निकालेर काफ्लेको नियुक्ति स्वीकार्य नभएको बताउनुभएको छ ।
यसअघि त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डिनमा प्राध्यापक डाक्टर दिव्यासिंह शाहलाई नियुक्ति गर्दा पनि केसीले वरिष्ठता मिचिएको भन्दै सच्याउन माग गर्नुभएको थियो ।
केसीले दलीय आधारमा भएका सबै नियुक्ति तत्काल खारेज गर्दै वरिष्ठताका आधारमा गर्न सरकारसँग माग गर्नुभएको छ ।
पटक पटक सत्याग्रह घोषणा गरेर स्थगित गर्दै आएका केसीले फेरि ५ बुँदे माग पूरा गर्न सरकारलाई आग्रह गर्दै नभए जुनसुकै बेला सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिनुभएको छ ।
प्रतिक्रिया