Main News

काम माग्दै सडकमा उत्रिए यातायात व्यवसायी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २३ गते २०:३६
काम माग्दै सडकमा उत्रिए यातायात व्यवसायी (भिडियोसहित)

२३ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमण देखिएसँगै बन्द भएका धेरै व्यवसाय मध्येको एक हो यातायात व्यवसाय लकडाउन हटेपछि केही समय छोटा दूरीका गाडी चल्न पाए पनि ग्यारेजमा थन्किएका लामो दुरीका गाडीमा खिया लागेको छ ।

पछिल्लो समय विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा केही दिन राखेर सम्बन्धित जिल्ला पठाउने काममा सार्वजनिक सवारी साधनको प्रयोग भइरहेको छ । तर त्यसमा पनि निश्चित व्यक्तिको मात्र एकाधिकार रहेको र आफूहरुले अवसर नपाएको भन्दै यातायात व्यवसायी प्रदर्शन मै उत्रिएका छन् ।

गएको चैत १० गतेदेखि देशमा लामो दुरीका गाडी चलेका छैनन् । लकडाउन हटेसँगै असार र साउनमा छोटो दूरीका गाडी केही समय फाट्ट फुट्ट चलेपनि लामो दुरीका गाडी ग्यारेजबाट निस्कन नै पाएका छैनन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा देशका धेरै जिल्लामा निषेधाज्ञा छ । यो बीचमा सञ्चालनमा आएका छोटा दूरीका सवारी साधन पनि थन्किएका छन् । जसले गर्दा यातायात व्यवसाय धराशायी हुने चिन्ता बढ्दो छ ।

नेपाल यातायात राष्ट्रिय महासंघका अनुसार देशभरका सार्वजनिक यातायातमा झण्डै १० लाख मजदुर आश्रित छन् । लकडाउनले ती मजदुरको रोजी रोटी बन्द छ र आम्दानी गुमेको छ । व्यवसाय पनि बन्द छ ।

त्यसैले के मजदुर के मालिक यातायात क्षेत्रमा संलग्न सबैको बेहाल छ । मजदूरका मात्र हैन मालिकको परिवार पनि बिचल्लीमा छ । त्यसैले धराशायी बन्दै गरेको व्यवसाय बचाउन यातायात व्यवसायी प्रदर्शनमा उत्रिएका छन् ।

पछिल्लो पटक विदेशबाट आएका यात्रुलाई जिल्ला जिल्लामा पुर्‍याउनु पर्ने भएसँगै व्यवसायीमा केही आशा जागेको थियो । तर त्यो आशा त्यतिबेला निराशामा परिणत भयो । जतिबेला त्यो काम केही सीमित व्यक्तिले मात्र पाए । त्यसैले उनीहरु आफ्नै अभिभावक संस्थाको विरोधमा उत्रिएका छन् ।

तत्काल सार्वजनिक गाडी नखोल्ने हो भने पनि विदेशबाट आउनेलाई घर पुर्‍याउने काम सबैलाई पालै पालो दिनु पर्ने उनीहरुको माग छ । उनीहरुले आफ्ना मागबारे सरोकारवाला निकाय र सरकारलाइ ध्यानाकर्षण गराइरहेका छन् । तर आवाज सुनिएको छैन । त्यसैले कोरोना सन्त्रासका बीच सडकमा उत्रिएका उनीहरु आफ्ना पीडा सरकारले नबुझे आन्दोलन चर्काउने तयारीमा छन ।

हुन त कोरोना संक्रमणको दर उकालो लागिरहेको यो असहज परिस्थितिमा पहिलो प्राथमिकता मानिसको स्वास्थ्य हो । तर १० लाख मजदूर र उनका परिवारको पेट पाल्ने बलियो सहारा बनेको सार्वजनिक यातायात झण्डै ६ महिनादेखि ठप्प हुँदा ती मजदुरका परिवार रोगले भन्दा भोकले मर्ने अवस्था आउने हो की भन्ने चिन्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *