Main News

एकैदिन २ हजार २ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज, ९०२ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २३ गते १६:४०
एकैदिन २ हजार २ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज, ९०२ जना नयाँ संक्रमित थपिए

२३ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय ९६ सहित पछिल्लो २४ घण्टामा देशभर थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९ सय दुई जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौंमा मात्रै ३ सय संक्रमित भेटिएका छन् । यसै गरी ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुने ४८ हजार १ सय ३८ जना पुगेका छन् । यसै गरी कैलालीमा ७७ जनामा संक्रमण देखिएको छ।

मोरङमा ५१ जनामा स‌ंक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मोरङमा गरिएको परीक्षणमा प्रदेश १ मा प्रहरी प्रमुखलाई पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुनसरीमा ३८ जना र धनुषामा ३० संक्रमित थपिएका हुन् । यस्तै मकवानपुरमा २४ चितवनमा २३ जनामा संक्रमण देखिएको छ । रुपन्देहीमा २१ जना तथा सप्तरी सुर्खेत र गोरखामा समान १८–१८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ सङ्क्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् । आजसम्म कुल सङ्क्रमितमध्ये ६८.५प्रतिशत डिस्चार्ज भएका छन् ।

सोमबार मुलुकभर ९७९ नयाँ सङ्क्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए । यस्तै आइतबार पनि सक्रिय सङ्क्रमति (९८० जना) को तुलनामा झण्डै दोब्बर (एक हजार ८१४ जना) कोरोजना जितेर घर फर्केका थिए ।

हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ ।

हाल १ सय ४४ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल ५ हजार ३ सय १० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रमणबाट आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा काठमाडौं र पर्साका दुई दुई जना, सुनसरी, अर्घाखाँची, कपिलवस्तु र कास्कीका एक एक जना रहेका छन् ।

स्वास्थ्य मन्त्रलायका अनुसार काठमाडौंका ८० वर्षीय महिला र ८५ वर्षीय पुरुषको कोरोनाकै कारण ज्यान गएको छ ।

यस्तै पर्साका ६० र ५४ वर्षीय दुई पुरुषको, सुनसरीका ७० वर्षीय पुरुष र कपिलवस्तुका ६२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको बाहेक नेपालगञ्ज र कास्कीमा २ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा अर्घाखाँचीका एक जना टिपर चालक पुरुषको पनि मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका–१० की ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसियुमा मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *