होल्डिङ सेन्टरबाट घर पुर्याउने यातायातमा रहेको एकाधिकार अन्त्य गर्न माग

२३ भदौ, २०७७ काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट आएका यात्रुलाई होल्डिङ सेन्टरबाट घर घर पुर्याउने काममा रहेको एकाधिकार बन्द गर्न माग गरेका छन् ।
यातायात व्यवस्था विभाग नयाँ वानेश्वर अघि भेला भएका यातायात व्यवसायीहरुले निश्चित व्यक्ति र समूहले मात्र होल्डिङ्ग सेन्टरबाट यात्रु ओसारपसारको गरिरहेकोमा आपत्ति जनाएका हुन् ।
विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट घर पुर्याउने नाममा ठूलो अनियमितता भइरहेको व्यवसायीको आरोप छ ।
विदेशबाट फर्किएका नेपालीलाई सहुलियतमा घर लैजान आफूहरु पनि तयार रहेको उनीहरुको भनाइ छ । उनीहरुले आफूहरुको व्यवसाय नै धरासयी हुने अवस्थामा पुग्दासमेत सरोकारवाला निकायको ध्यान नगएको गुनासो गरेका छन् ।
त्यसैले होल्डिङ सेन्टरमा बसेकाहरुले निश्चित दिनको क्वारन्टिन समय पूरा गरेर घर जानेलाई सम्बन्धित प्रदेशकै सार्वजनिक यातायातले लैजान पाउने व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।
यातायात व्यवस्था विभागमा आफ्ना माग पत्र लिएर पुगेका यातायात व्यवसायीहरुले आफूहरुका माग पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।
प्रतिक्रिया