खानाका लागि खुलामञ्च पुगेकाको प्रश्नः भोको पेट कसरी निषेधाज्ञा पालाना गरौं सरकार ? (भिडियोसहित)
२२ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको तीन साता भइसक्यो । तर कोरोना संक्रमितको संख्या घटेको छैन ।
हरेक दिन संक्रमित र मृतकको संख्या बढिरहेको छ । अर्थात कोरोना नियन्त्रणका लागि भन्दै जारी गरिएको निषेधाज्ञाले कोरोना होइन राज्यप्रति जनताको विश्वास घटाउँदै गएको छ ।
कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले यस्तो परिस्थिति बनाएको छ कि । गरिब मजदुर परिवारले आफैंले केही गरेर खान पाएका छैनन् ।
आफ्नो स्वाभिमानलाई एकातिर थाँती राखेर, लाजलाई छपक्कै छोपेर एक छाक खानकै लागि खुलामञ्चमा यसरी भेला हुनेहरुले अहिलेको देशको स्थितिलाई छर्लङ्ग पारेका छन् ।
घरमा दाल चामल सकिएपछि एक छाक भात खानकै लागि मानिसहरु काठमाडौंका चार भञ्ज्याङ्गबाट खुल्लामञ्च पुग्न बाध्य छन् ।
काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा समुदायमै कोरोना संक्रमित भेटिन थालेपछि नियन्त्रणका लागि भन्दै प्रशासनले निषेधाज्ञा लगाएको छ ।
एक हप्ता, दुई हप्ता हुँदै निषेधाज्ञा अहिले तेस्रो हप्तामा चलिरहेको छ । तर कोरोना संक्रमितको संख्या घटेको छैन । बरु निषेधाज्ञा अगाडि भन्दा धेरै संख्यामा संक्रमित बढेका छन् । ज्यान गुमाउनेको संख्या पनि हरेक दिन बढ्दो छ ।
निषेधाज्ञा गरेर परीक्षणको दायरा र कन्ट्याक्ट ट्रेसिङ बढाउने भनेको सरकार जनतालाई घरघरमा थुनेर आफू पनि निषेधाज्ञामा बसेको छ । दिनभरि काम गरेर साँझ त्यही पैसाले सामल किनेर खाने यस्ता लाखौं मजदुरको पीडा उसले देख्न सकेको छैन । देशले खुल्लामञ्चमा भात खान भेला हुनेहरु बढ्दै गएका छन् ।
विभिन्न सामाजिक संघ संस्थाहरुको पहलमा उनीहरुले अहिलेसम्म खुल्लामञ्चमा पुगेर एक छाक खान पाएका छन् । र रोगले भन्दा भोकले मरिने हो की भन्ने चिन्ताबाट एक दिनलाई बचेका छन् । तर खाना खान नपाएको दिन के गर्ने उनीहरुले केही सोच्न सकेका छैनन् ।
पछिल्लो समय थपिएको निषेधाज्ञाको समय भदौ २४ गते सकिँदैछ । त्यसपछि त निषेधाज्ञा हट्ला र काम गरेर खाउँला भन्ने आशमा मजदुरहरु बसेका छन् । तर प्रशासन भने दशैंसम्म निषेधाज्ञा लम्ब्याउन चाहिरहेको छ । किनकी त्यो प्रशासनले यी मजदुरको दुख देख्न सकेको छैन ।
प्रतिक्रिया