Political Hightlights

देउवाले मनलाग्दी गरेको भन्दै पौडेल पक्ष रुष्ट

हिमालय टिभी
२०७७ भदौ २० गते ७:३९
देउवाले मनलाग्दी गरेको भन्दै पौडेल पक्ष रुष्ट

२० भदौ, २०७७, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि असन्तुष्ट पक्ष थप रुष्ट बनेको छ।

सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित बनेको हो। पौडेल समूहले सभापतिका निर्णय फिर्ता गराउन दबाब दिने कार्यक्रम तय गर्न आज आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ।

ती निर्णय खारेज गर्न सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाज पौडेल समूहमा उठेको छ। देउवाले अहिले आफैले स्थापित गरेको मान्यताविपरीत निर्णय गर्दै गएको पौडेल पक्षको भनाइ छ ।

विभाग गठनप्रति सुरुदेखि नै असन्तुष्ट बनेको पौडेल समूहले देउवालाई विरोधपत्र समेत बुझाएको थियो। देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि पौडेल समूह राजीनामादेखि धर्नासम्म दिनुपर्ने निष्कर्षमा पुगेको छ।

आज हुने छलफलमा यसको औपचारिक निर्णय हुने केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताउनुभयो । सुरुमा सभापतिलाई निर्णय सच्याउन ३ दिनको अल्टिमेटम दिने, त्यसपछि धर्ना दिने, त्यसबाट पनि आफूहरुका मागको सम्बोधन नभए अनशन बस्ने सम्मको छलफल भएको घिमिरेले बताउनुभयो ।

पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता वितरण र भ्रातृसंस्थाको कार्यकाल थपका विषायमा असनतुष्टि जनाएको छ ।

सभापति देउवाले एनपी सावद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गर्नु भएको छ ।

अहिलेसम्म २० वटा विभागमा करिब ९ सय स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुक मनोनयन भएका छन् । पद बाँडेर महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै पौडेल पक्षले निरन्तर विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्