अर्थ तथा सञ्चारमन्त्री खतिवडाद्वारा राजीनामा
१९ भदौ, २०७७ काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ ।
खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो । ०७४ साल फागुन १४ गते खतिवडा अर्थमन्त्री नियुक्त हुनुभएको थियो ।
राष्ट्रिय सभामा २ वर्षका लागि सांसद चुनिएका खतिवडाको कार्यकाल गत फागुन २० गते सकिएपछि संविधानको धारा ७८ अनुरुप फागुन २१ गते दोश्रो पटक मन्त्री हुनुभएको थियो ।
अब सरकारले राष्टिय सभामा सिफारिस नगर्ने भएपछि पदावधि सकिनु एक दिन अघि खतिवडाले पद छोड्नुभएको हो । अन्तिम पत्रकार सम्मेलनमा खतिवडाले सरकार बाहिर रहेर पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले कोरोनाको महामारी क्षणिक भएको र यसलाई परास्त गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।
संविधानको धारा ७८ को व्यवस्थामा टेकेर दोस्रो पटक ६ महिनाका लागि मन्त्री भएका खतिवडाले कार्यकाल सकिनु एक दिनअघि राजीनामा दिनुभएको हो । गत फागुन २० गते दोश्रो पटक मन्त्री भएका खतिवडाको कार्यकाल भोलि सकिदैँछ ।
प्रतिक्रिया