रातो मच्छिन्द्रनाथको रथयात्रामा किन भयो झडप, कमजोरी कस्को ? (भिडियोसहित)
१८ भदौ, २०७७ ललितपुर । निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्ने स्थानीयबासिन्दा र प्रहरीबीच ललितपुरको पुल्चोकमा आज दिनभर झडप भयो । लिच्छवीकालदेखि हुँदै आएको करिव १६ सय वर्ष पुरानो रथयात्रा यसपटक कसरी युद्धयात्रामा परिणत भयो त ।
ललितपुरको पुल्चोकमा स्थानीयबासिन्दाले रथ तान्न थालेपछिको दृश्य हो यो । उपत्यकाका हजारौ मानिस सहभागी हुने यो रथयात्रामा यसअघि कहिल्यै यस्तो दृश्य देखिएको थिएन । तर यसपटक यस्तो भयो ।
चैतदेखि रोकिएको रथयात्रा जसरी पनि शुरु गर्ने स्थानीय बासिन्दाको अडान र रथयात्रा गर्नै नदिने प्रशासनको हठले यो स्थिति निम्तिएको हो ।
चैतदेखि रोकिएको रथयात्रा शुरु गर्न स्थानीयबासिन्दाले पटक पटक आग्रह गरे, दबाब दिए, योजना पनि पेश गरे । तर कुनै सुनुवाई भएन । त्यसैले आफैं जम्मा भएर कोरोना परवाह नगरी निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरमा लिच्छबीकालदेखि चल्दै आएको रथ ताने ।
शुरुमा थोरै संख्यामा रहेका प्रहरीले सम्झाई बुझाईँ गरे । रथ तान्न आएकाहरु प्रहरीसँग आक्रामक भए । उनीहरुले प्रहरीलाई हट्न भने । रथअघि बढ्यो । रथ २५–३० मिटर अघि पुर्याएपछि प्रहरी आक्रामक बन्यो । प्रहरीले पहिला रथ बनाएको ठाउँमा जम्मा भएका मानिसलाई पानीको फोहोरा हान्न थाल्यो ।
स्थानीय बासिन्दाले ढुंगामुढा गर्न थाले भने प्रहरीले अश्रुग्यास । र, हेर्दा हेर्दै एक छिनअघिको शान्त ठाउँ, यसरी युद्ध मैदानमा परिणत भयो ।
रथ तान्न खोज्ने युवा र रथ तान्न नदिने प्रहरीबीच पटक पटक पुल्चोक र नटोल क्षेत्रमा झडप भयो ।
प्रतिक्रिया