Political Hightlights

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

हिमालय टिभी
२०७७ भदौ १८ गते १८:३२
उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

१८ भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराउनुभएको थियो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान छ ।

यसअघि सिफारिशसहित नियुक्त हुनुभएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र विमला पौडेल हुनुहुन्छ । तीमध्ये डा खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *