Main News

कोरोनाको परवाह नगरी मल लिन लाम : रोग ठूलो कि भोक ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १७ गते १९:५३
कोरोनाको परवाह नगरी मल लिन लाम : रोग ठूलो कि भोक ? (भिडियोसहित)

१७ भदौ, २०७७, काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाएको छ । घर बसौं रोगबाट बचौं भन्ने सरकारको नीति छ ।

तर सरकारले जनताका समस्या सम्बोधन नगर्दा रोग ठूलो कि भोक ठूलो, आवश्यकता ठूलो कि रोग ठूलो भन्ने अवस्था सिर्जना भएको छ । चितवनको गीतानगरमा आज मलका लागि तडपिएका किसानको लामो लाइनले यस्तै देखाएको छ ।

यो चितवनको भरतपुर महानगरपालिका वडा नंबर ६ गीता नगरको दृश्य हो । चितवनमा निषेधाज्ञा छ । भेला, जमघट र हिँडडुल गर्न बन्देज छ । किनकी कोरोना संक्रमणबाट जोगिने भन्दै सरकारले निषेधाज्ञा लगाएको छ । तर यसको कुनै परवाह नगरी एक हजार भन्दा बढी स्थानीय बासिन्दा लाम लागेका छन, यहाँ ।

उनीहरुलाई कोरोनासँग डर नलागेको पनि होईन, घर भित्र बस्न मन लागेको पनि होईन रु तर रोग भन्दा ठूलो भोक हुने अवस्था आई लाग्यो, त्यसैले उनीहरु यसरी बाहिर निस्कन बाध्य भए । किनकी उनीहरुलाई अहिले धानमा राख्ने यूरिया मल चाहिएको छ ।

स्थानीय सर्वोदय बहुउद्देश्यीय सहकारीले १ सय २० बोरा युरिया मल बाँड्दै थियो । यो थाहा पाएपछि बिहान तीनैबजेदेखि किसान लाम लागे ।

तर यसरी घण्टौ उभिएर उनीहरुले १० किलो मात्रै मल पाए । ५ सय ५० जनाले मल पाउँदा अरु ५ सय भन्दा बढी किसान रित्तै फर्किए ।

हिजो आज मल पाउने आशमा यस्ता लाम देशैभर देख्न सकिन्छ । र, भीडले कोरोनालाई गिज्याइरहेको छ । चितवनको यो भीडले पनि त्यही गरिरहेको छ ।

चितवमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ । चितवनकै भरतपुर अस्पतालमा कोरोना संक्रमितको दैनिक जसो मृत्यु भइरहेको छ । सबैभन्दा बढी संक्रमण भरतपुर महानगरपालिकामा नै छ । कुनै पनि वडा संक्रमणबाट मुक्त छैनन् । र, जनताको समस्या भन्दा टाढा बसेर गरिने कामले संक्रमणको जोखिम अझ बढाएको छ ।

रोग भन्दा भोकसँग डराएका जनतालाई पेट भरेका शासकले घर बस मात्रै भनेर केही नहुने रहेछ भन्ने सन्देश यस्ता दृश्यहरुले दिईरहेका छन । किनकी आवश्यकताभन्दा ठूलो कुरा केही रहनेछ, रोगभन्दा ठूलो भोक रहेछ । शासकहरुले यसबाट सिकेर जनताका समस्या समाधान गर्नु जरुरी छ । किनकी शासकले रोग र जनताले भोक ठूलो ठानेको अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *