Main News

मिश्रलाई सात दिनभित्र हाजिर हुन अख्तियारको निर्देशन

हिमालय टिभी
२०७७ भदौ १७ गते १३:१८
मिश्रलाई सात दिनभित्र हाजिर हुन अख्तियारको निर्देशन

१७ भदौ, २०७७ काठमाडौं । तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई ७ दिनभित्र हाजिर हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना निकालेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका एजेन्टसमेत रहेका मिश्रसँग प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको उजुरीबारे बुझ्न आवश्यक परेको भन्दै हाजिर हुन अख्तियारले पत्रिकामा सूचना निकालेको हो ।

७ दिन भित्र आयोगमा उपस्थित नभए कानून बमोजिम कारबाही गर्ने अख्तियारले चेतावनी दिएको छ । मिश्रले प्रेस खरीद गरेपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक गरिदिएपछि गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट २०७६ फागुन ८ गते पदबाट राजीनामा दिनुभएको थियो ।

अख्तियारले सूचना निकाले लगत्तै मिश्रले विज्ञप्ति निकालेर आफू जापानमा रहेको र नेपाल फर्केर प्रमाणसहित अख्तियारमा उपस्थित हुने बताउनुभएको छ ।

अख्तियारले अडियो रेकर्डिङ्गको डिभाइससहित आउनु भनेको तर त्यो डिभाइस जापानमा रहेकाले डिभाइस लिन जापान गएको मिश्रको विज्ञप्तिमा उल्लेख छ । नेपाल फर्कने टिकट पनि लिइसकेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *