Main News

लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखोल्ने सरकारको निर्णय

हिमालय टिभी
२०७७ भदौ १५ गते ७:५४
लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखोल्ने सरकारको निर्णय

१५ भदौ, २०७७ काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भएको थियो ।

यस्तै विद्यालय र कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।

सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो। आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यसलाई बढाउनुपर्ने धारणा राखेको र त्यसमा सैद्धान्तिक सहमति दिइएको छ ।

अब कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहन्छ भने ५०० को कोटाभन्दा बाहिर पनि ल्याउन दिइनेछ ।

साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णयसमेत भएको छ । मन्त्रिपरिषद् बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूतसमेत नियुक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *