Main News

कोरोना संक्रमणबाट आज थप सात जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १४ गते १२:५१
कोरोना संक्रमणबाट आज थप सात जनाको मृत्यु

१४ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप सात जनाको मृत्यु भएको छ । सुनसरी र पर्सामा दुई–दुइ तथा ललितपुर, भक्तपुर र सप्तरीमा एकएक जनाको मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृतक६० वर्षीय पुरुष र ७४ वर्षीया महिला दुवै मृतक सुनसरी धरान–१७ का हुन ।

पर्साको वीरगञ्जमा कोरोना संक्रमण भएका रौतहटका दुई पुरुषको मृत्यु भएको छ । रौतहट राजपुर तुलसीका ४० वर्षीय र गम्हरियाका ३० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

राजपुर तुलसीका पुरुषको आज बिहान गण्डक कोभिड अस्पताल र गम्हरियाका पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएको हो ।

यसैगरी पाटन अस्पतालमा ललितपुरका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । उनको साउन २८ गतेदेखि उपचार भैरहेको थियो । उनमा अन्य रोग भए नभएको जनस्वास्थ्य कार्यालय ललितपुरले खुलाएको छैन । साथै ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन ।

यस्तै भक्तपुरमा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ दूधपाटीका ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

मृतकको भदौ ११ गते लिइएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । भक्तपुरमा होम आइसोलेसनमै मृत्यु हुने उनी पहिलो संक्रमित हुन् । यससँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी, सप्तरीको राजविराज नगरपालिकाका ६० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । ज्वरो आएकी उनी केही दिनयता राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् ।

शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब संकलन गरिएकोमा त्यसको रिपोर्ट हिजो पोजिटिभ आएको थियो । त्यसपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । योसहित सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *