Main News

काठमाडौं उपत्यकाका छिर्ने नाकामा भद्रगोल : सबै कोरोना संक्रमणको जोखिममा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १२ गते २०:१७
काठमाडौं उपत्यकाका छिर्ने नाकामा भद्रगोल : सबै कोरोना संक्रमणको जोखिममा (भिडियोसहित)

१२ भदौं, २०७७ काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । र संक्रमणको बढ्दो ग्राफलाई ओरालोमा झार्न भन्दै निषेधाज्ञा पनि जारी गरिएको छ । र यो निषेधाज्ञाको समयमा परीक्षणको दायरालाई व्यापक बनाउने भनिएको छ ।

तर सम्भावित संक्रमित प्रवेश गर्न सक्ने मुख्य नाकामा भने स्वास्थ्य जाँचको कुनै व्यवस्था छैन । जसले गर्दा उपत्यकामा संक्रमित भित्रिने मात्रै होइन नाकामा खटिने सुरक्षाकर्मी पनि जोखिममा परेका छन् ।

जतिबेला उपत्यकामा कोरोना संक्रमितको संख्या खासै धेरै थिएन । र निषेधाज्ञा पनि थिएन । तर पनि नाकामा ज्वरो नाप्ने, र स्वाबको नमूना संकलन गर्ने गरिन्थ्यो । व्यवस्थापनको पाटो जे जस्तो भए पनि जाँच्ने क्रम केही दिन चल्यो ।

तर अहिले अवस्था फेरिएको छ । काठमाडौं उपत्यकामा संक्रमित मात्र होइन, मृतकको संख्या पनि हरेक दिन बढ्दो छ र यही कारण निषेधाज्ञा लगाइएको छ । तर जोखिम झन बढिरहेको यो समयमा नाकामा स्वास्थ्य जाँचको कुनै व्यवस्था छैन । यहाँ ज्वरो नाप्ने थर्मल गनसम्म छैन । परिणाम सुरक्षाकर्मीसमेत भगवान भरोसामा काम गरिरहेका छन् ।

२४ घण्टा नै मान्छेको ओहोरदोहोर हुने यो नाकामा सुरक्षाकर्मी झरी पानी नभनी ड्युटीमा खटिएका छन् । तर संक्रमणको निकै जोखिममा रहेको क्षेत्र हुँदै उपत्यका प्रवेश गर्ने व्यक्ति र सवारी साधनको जाँचमा खटिएका उनीहरुसँग पनि सुरक्षाको भरपर्दो कवच छैन । न उचित बासको व्यवस्थानै ।

त्यसो त स्वास्थ्य परीक्षणको बन्दोबस्ती मिलाइदिनु पर्यो भनेर उनीहरुले नभनेका होइन । तर मागको सुनुवाइ भएको छैन ।

उपत्यकामा निषेधाज्ञा भएकाले नाकामा अहिले सवारीको चाप केही घटेको छ । सरकारले एक जना पनि संक्रमितलाई काठमाडौं प्रवेश गर्न नदिने सरकारको नीति छ । तर नाकाबाट बिना स्वास्थ्य जाँच ओहोरदोहोर जारी छ । यसमा प्रशासनको आफ्नै तर्क छ ।

प्रशासन नाकामा अपनाउनुपर्ने स्वास्थ्य सतर्कताको विषयमा स्थानीय सरकार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हो भन्छ । यसमा स्थानीय सरकारको आफ्नै समस्या छ ।

स्वास्थ्य मन्त्रालय चाहिँ नाकामा हेल्थ डेस्क राख्न पैसा छैन भन्छ ।कोरोना संक्रमण नियन्त्रणका लागि अर्बौं रुपैयाँ खर्च गरिसक्यौं भनेर सरकारले रटान लगाइरहेको छ । तर जोखिम क्षेत्र नै न्यूनतम स्वास्थ्य परिक्षणको व्यवस्था पनि सरकारका तर्फबाट गरिएको छैन ।

यो लापरवाहीले संक्रमणको जोखिम त बढाउँदैछ नै सुरक्षा दिन बसेका सुरक्षाकर्मीको मनोबल पनि कमजोर बनाउँछ । त्यसैले एकले अर्कालाई दोषारोपण गर्नुभन्दा संक्रमण नियन्त्रणका लागि समन्वय र सहकार्य मजबुद बनाएर बढ्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *