धरानमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु
१२ भदौ, २०७७, सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
झापाको दमक घर भएका ८३ वर्षीय वृद्ध, सिरहाका ५५ वर्षीय पुरुष र मोरङको बेलबारीकी ५६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठान लगिएको थियो । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।
साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो ।
उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।
यसैगरी ५६ वर्षीया महिलालाई कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठान लगिएको थियो । उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।
उनको दीर्घकालीन रोगबारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको डा. सापकोटाले बताउनुभयो । ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
यस्तै सिरहा नगरपालिका निवासी ५५ वर्षीय पुरुषमा खोकी, श्वास फेर्न गाह्रो तथा ज्वरो आएपछि परिवारले भदौ ६ गते बीपीमा भर्ना भएका थिए । बीपीको मेडिकल वार्डमा भर्ना गरेर स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
प्रवक्ता सापकोटाका अनुसार कोभिड–१९ अस्पतालको आईसीयूमा दुई दिनदेखि उपचारत पुरुषमा उच्च रक्तचापसँगै २० वर्षअगाडि टीबी रोगको औषधि सेवन गरेको पाइएको छ ।
प्रतिक्रिया