अनसन बस्न जुम्ला पुगेका डा. केसीलाई होटल बाहिर निस्कन रोक

हिमालय टिभी
२०७७ भदौ ११ गते १९:४१
अनसन बस्न जुम्ला पुगेका डा. केसीलाई होटल बाहिर निस्कन रोक

११ भदौ, २०७७ काठमाडौं । आफूसँगको सम्झौता कार्यान्वयनको माग राख्दै अनशन बस्न जुम्ला पुगेका डाक्टर गोविन्द केसीलाई प्रहरीले होटल बाहिर निस्किन रोक लगाएको छ ।

डाक्टर केसी बसेको होटल रोयल गार्डेनबाट बाहिर निस्किन प्रहरीले रोकेको हो । सरकारले २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै केसीले आजदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रह थाल्ने घोषणा गर्नुभएको थियो । घोषणा अनुसार अनसनका लागि जान लाग्दा केसीलाई प्रहरीले होटलको गेटमा नै रोकेको हो ।

डाक्टर केसीले आफ्नो अभियानमा सहयोग गर्ने साथीहरुलाई पनि प्रहरीले घर घर पुगेर धम्क्याउने काम गरेको आरोप लगाउनुभएको छ । उहाँले आजै विज्ञप्ति निकालेर आफ्नो पूर्वघोषित सत्याग्रह एक हप्ताका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रम संचालन गर्नु पर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति थपेर पठनपाठन शुरू गर्नु पर्ने, प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने केसीको माग छ ।

यस्तै उहाँले २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नु पर्ने र चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सीट कायम गर्नु पर्ने माग राखेर अनसनमा बस्ने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *