गरिबलाई खाना खुवाउँदै विराटनगरका युवा (भिडियोसहित)

८ भदौ, २०७७, विराटनगर । दैनिक ज्याला मजदुरी गर्ने तथा सडकको पेटीमा बसेर गुजारा चलाउँदै आएका नागरिकका लागि विराटनगरका स्थानीय युवाले फेरि खाना खुवाउन थालेका छन् । उनीहरुको अभियानले विराटनगरका गरिवगुरूवालाई राहत मिलेको छ ।
पछिल्लो समय समुदायस्तरमै कोरोना सङक्रमण देखिन थालेपछि रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित ३ वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ ।
तर निषेधाज्ञा जारी भएसँगै दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने तथा सडकको पेटीमा बसेर रात बिताउन बाध्य बेसहाराहरु पुनः संकटमा परेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै युवाहरुको समुहले शनिबारदेखि खाना खुवाउने अभियान शुरु गरेको हो ।
विराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउसमा खाना पकाएर प्याक गरी प्रत्येक दिन करिब २ सय जनालाई निःशुल्क वितरण गर्ने गरिएको छ । युवाको यो समूहले यसअघि पनि गत चैत ११ गते देखि देशव्यापी रुपमा लकडाउन घोषणा भएको बेला लगातार ८० दिन खाना खुवाएको थियो ।
त्यति बेला युवा समूहले कुनै पनि सरकारी तथा गैरसरकारी संस्था र दातृ निकायको सहयोग स्विकार गरेन । कुनै पनि राजनीतिक संघ(संगठन र राजनितिक असंलग्नताको बाबजुद युवाले गरिब र विपन्नलाई निशुल्क खाना खुवाए । लकडाउन खुकुलो भएसँगै खुवाउन रोकियो । तर अहिले फेरि निषेधाज्ञाका कारण मानिस भोक भोकै पर्न थालेपछि अभियान शुरु भयो । यसले बेसहाराहरुलाई खुसी दिएको छ ।
यो अभियान निषेधाज्ञा अवधिभर जारी राख्ने युवा समूहको योजना छ ।
प्रतिक्रिया