बैतडीमा आजदेखि निषेधाज्ञा, रुपन्देहीमा लकडाउन एक साता लम्बियो

हिमालय टिभी
२०७७ भदौ ८ गते ८:२३
बैतडीमा आजदेखि निषेधाज्ञा, रुपन्देहीमा लकडाउन एक साता लम्बियो

८ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बैतडीमा आज मध्यरातिदेखि निषेधाज्ञा गरिने भएको छ ।

आज राति १२ बजेदेखि यही भदौ १४ गते राती १२ बजेसम्म लागु हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।

यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ ।

यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक जिल्लामा अन्य सवारीसाधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।

यसैबीच काठमाडौंबाट बैतडी सरुवा भएका प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ । गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी छ महिनाकी छोरीमा पनि कोरोना पुष्टि भएको हो ।

त्यसैगरी रुपन्देही जिल्लामा भदौ १४ गते राति १२ बजेसम्मका लागि लकडाउन थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएराति १२ बजेदेखि लकडाउन थप गरेको हो । पुनः लकडाउन थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले जानकारी दिनुभयो ।

उहाँले महामारी समुदायस्तरमा नियन्त्रण गर्न यही भदौ १४ गते राति १२ बजेसम्मका लागि पुनः थप गर्ने निर्णय गरेको र पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको निर्णय र जिल्लामा कोभिड प्रभाव फैलिँदै गएका अवस्थालाई ध्यानमा राखी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम विशेष आदेशमार्फत जिल्लामा थप कडाइको सूचना जारी गरिएको हो।

उता कपिलवस्तु जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलँदै गएकाले नियन्त्रणका लागि निषेधाज्ञा एक हप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

यही भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप जारी गरिएको हो । अहिलेसम्म जिल्लामा एक हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणकै कारण दुई जनाको ज्यान गएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *