Main News

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, ८१८ नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ ७ गते १६:३६
नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, ८१८ नयाँ संक्रमित थपिए

७ भदौ, २०७७ काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमणबाट नेपालमा ६ जनाको मृत्यु भएको छ । ‌संघीय स्वास्थ्य मन्त्रालयले भने तीन जनाको मात्रै पुष्टि गरेको छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पर्सा र सर्लाहीमा एक एक महिला तथा झापामा एक पुरुषको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका दुई र भरतपुरमा मृत्यु भएकी महिलाबारे उल्लेख गरेको छैन । बुटवल उपमहानगरपालिका( १ कि ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका( २ का ३८ वर्षका पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरुको भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित बुटवलकी महिलामा स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिनुभयो ।

साउन ३१ गते कोरोना संक्रमण पुष्टि भई कोरोना विशेष अस्पतालमा उपचारका लागि ल्याइएकी महिलाको आज विहानदेखि स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । त्यस्तै समरीमाइका पुरुष कोरोना संक्रमण पुष्टि र स्वासप्रश्वासमा समस्या भएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएका थिए । योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसैगरी, चितवन भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ का ६५ वर्षीया महिलाको गएराती मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आउँदा ती महिलाको मृत्यु भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर, रिपोर्ट नआउँदै महिलाको मृत्यु भएको हो ।

कलेजोमा समस्या देखिएपछि उनलाई साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

यसैबीच काठमाडौं उपत्यकामा १ सय ६६ सहित देशभर गरेर आज ८ सय १८ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ ।

आज थपिएका ८ सय १८ नयाँ संक्रमित सँगै देशभर हालसम्म संक्रमितको संख्या ३१ हजार ९३२ पुगेको छ । पछिल्लो पटक २ सय १८ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *