Main News

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने ९ जना पक्राउ

हिमालय टिभी
२०७७ भदौ ३ गते १२:३८
राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने ९ जना पक्राउ

३ भदौ, २०७७ काठमाडौं । नेपालको झण्डा जलाएको दृश्य समावेश गरेर म्युजिक भिडियो बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय अपराध महाशाखाको टोलीले हालसम्म ९ जनालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताउनुभयो ।

प्रवक्ता कडायतका अनुसार पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित क्यामेरापर्सन, भिडियो सम्पादक र मोडल छन् ।

मंगोलियक हप नेपाल नामक युट्युक च्यानलमा राखिएको देशद्रोही नामको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको छ भने जातिय सद्भाव खलबलाउने शब्दहरु प्रयोग गरिएका छन् ।

भदौ १ गते युट्युबमा अपलोड गरिएको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै प्रहरीले संलग्नहरुको खोजी सुरु गरेको थियो ।

म्युजिक भिडियोको सुटिङ मकवानपुरको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गरिएको प्रहरीले जनाएको छ ।

म्युजिक भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पृथ्वीनारायण शाह, पूर्व प्रधानमन्त्री वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र पूर्व राजा ज्ञानेन्द्र शाहको तस्विर पनि जलाइएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरीले साइबर क्राइम र मुलुकी अपराध संहिता २०७४ को दफा १५१ को उपदफा १ अनुसार मुद्दा चलाउने तयारी गरेको छ ।

झन्डा जलाउन, राष्ट्रिय गान दुरुपयोग, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउन पाइँदैन । यो कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *