राजनीति

ओली–मोदी वार्ता : नक्सा प्रकरणपछिको तिक्तता अन्त्य गर्ने प्रयास (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३१ गते १९:०८
ओली–मोदी वार्ता : नक्सा प्रकरणपछिको तिक्तता अन्त्य गर्ने प्रयास (भिडियोसहित)

३१ साउन, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । नक्सा प्रकरणपछि सम्बन्ध चिसिएकाले आजको वार्तालाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओलीले भारतको ७४ औ स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय समकक्षी मोदीलाई टेलिफोन गर्नुभएको हो । वार्तामा प्रधानमन्त्री ओलीले भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको थियो । नेपालले लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गरेपछि दुई प्रधानमन्त्रीबीच पहिलो पटक टेलिफोन वार्ता भएको हो ।

परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मोदीको छिमेक नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताउनुभएको थियो । ओली र मोदीबीच कोरोना संक्रमणविरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ ।

दुई प्रधानमन्त्रीबीच सीमा क्षेत्रको समस्याबारे भने आज कुरा भएन । तर द्वीपक्षीय मुद्दामा सम्वाद जारी राख्ने सहमति भएको परराष्ट्र मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

ओली र मोदीबीच कोभिड–१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रेस नोट जारी गरेर भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको छ ।

भारत अंग्रेज शासकको उपनिवेशबाट सन १९४७ सालमा आजकै दिन मुक्त भएको थियो ।

स्वतन्त्रता दिवसका अवसरमा दिल्लीमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले भने सीमा नजोडिएका तर मन मिल्ने देश पनि असल छिमेकी भएको भन्दै वरिपरिका मुलुकप्रति सांकेतिक रुपमा असन्तुष्टि जनाउनुभएको छ । तर उहाँले दक्षिण एसियाका नेतासँग मिलेर काम गर्न इच्छुक रहेको भने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्