Main News

यसरी भइरहेको छ काम, यस्तो बन्दैछ काष्ठमण्डप (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३१ गते ६:१६
यसरी भइरहेको छ काम, यस्तो बन्दैछ काष्ठमण्डप (भिडियोसहित)

३१ साउन, २०७७, काठमाडौं । काठमाडौंको काष्ठमण्डपको पुनर्निर्माण ७० प्रतिशत सकिएको छ । कोरोना कहरका कारण गत चैतमा केही दिन काम रोकिए पनि त्यसपछि नियमित काम भइरहेको छ ।

काष्ठमण्डपको पुनर्निर्माणमा आधुनिक मेसिन र प्रविधि प्रयोग नभइ स्थानीय जनशक्तिको हाते सीप नै उपयोग भइरहेको छ ।

कोही ढुंगा काटि रहेका छन् । कोही काठमा रन्दा घोटीरहेका । अनि कोही चाहिँ माटोको लिउन हाल्दै पर्खाल लगाईरहेका ।

यहाँ निर्माणमा रोडा ढुंगा सिमेन्ट र बालुवा हैन । माटो, इटा, काठ र ढुंगा प्रयोग भइरहेको छ । हो काठमाडौंको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणमा आधुनिक प्रविधि हैन परम्पारगत सीप र प्रविधि प्रयोग भइरहेको छ ।

पुनर्निर्माणका लागि आवश्यक सामान स्थानीय स्तरमा नै जुटाइएको छ । अहिलेसम्म ८ हजार क्यूफिट काठ महोत्तरी, मकवानपुर र कञ्चनपुर लगायतका क्षेत्रबाट ल्याइएको छ । अझै ४ हजार क्यूफिटजति काठको आवश्यकता छ ।

भूकम्पमा भत्किएको भग्नावशेषबाट संकलन गरिएका केही काठ पनि प्रयोग गरिएको छ । मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ । पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग हुँदै आएको छ ।

अहिलेसम्म काष्ठमण्डप निर्माण्को काम ७० प्रतिशत सकिएको छ । पहिलो तलाको सम्पूर्ण काम सकिएको यहाँ अहिले धमाधम दोस्रो तलाको काम चलिरहेको छ ।

पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण, काठमाडौं महानगरपालिका र स्थानीयबासिन्दाबीच कुरा नमिल्दा ३ वर्षसम्म काष्ठमण्डप अलपत्र रह्यो । तर पछि १५ सय वर्ष पुरानो मौलिक प्रविधि अपनाएर स्वदेशी सीप, पूँजी, प्रविधि र श्रमलाई प्रयोग गरी स्थानीयबासिन्दाले काष्ठमण्डप पुनर्निर्माण गर्ने सहमति भयो र काष्ठमण्डप पुननिर्माण समिति गठन गरेर काम थालियो ।

पुननिर्माणका लागि रकम उपलब्ध गराउने सहमति अनुसार महानगरपालिकाले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ समितिलाई हस्तान्तरण गरिसकेको छ ।

कोरोना संक्रमणको जोखिम देशव्यापी रहे पनि आवश्यक सावधानी अपनाएर पुर्ननिर्माणको काम जारी रहनु राम्रो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *